नियम २१
रोक्का राखिएको राहदानी वा धरौटी, जेथा जमानी वा बैङ्क जमानत फुकुवा
(१) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तककिकातको क्रममा रोक्का राखिएको राहदानी रोक्का राखिरहनु पर्ने अवस्था नदेखिएमा अनुसन्धान अधिकृतले महानिर्देशकको स्वीकृति लिई अनुसूची – २० बमोजिमको ढाँचामा अभिलेख जनाई राहदानी रोक्का राख्ने निकायमा फुकुवाको लागि लेखी पठाउनु पर्नेछ ।
(२) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा धरौटी, जमानी वा बैड्ढ जमानत मागिएको र अभियुक्त वा निजको तर्फबाट धरौटी, जमानी वा बैड्ढ जमानत लिएकोमा सो सम्बन्धमा मुद्दा नचल्ने निर्णय भएमा विभागले त्यस्तो नगद धरौटी फिर्ता वा बैङ्क जमानत फुकुवा गरिदिनु पर्नेछ ।
(३) राजस्व चुहावट सम्बन्धी कसूरमा मुद्दा चली अभियुक्तले सफाई पाउने ठहर भई सो अन्तिम भएमा वा पुनरावेदन परेकोमा पुनरावेदनको अन्तिम टुङ्गो लागेपछि अभियुक्त वा निजको तर्फबाट राखिएको नगद धरौटी वा बैङ्क जमानत फुकुवा गरिदिनु पर्छ ।
(४) राजस्व चुहावट सम्बन्धी कसूरमा मुद्दा चली अभियुक्तले त्यस्तो कसूर गरेको ठहर भएमा निज वा निजको तर्फबाट लिइएको धरौटी, जमानी वा बैङ्क जमानतबाट फैसला बमोजिम लाग्ने दण्ड जरीवाना कटाई बाँकी सम्पत्ति निजलाई फुकुवा गरिदिनु पर्नेछ ।
(५) राजस्व चुहावट सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातको सिलसिलामा कब्जामा लिइएको मालवस्तु वा कागजपत्र कब्जामा लिइरहनु पर्ने अवस्था नदेखिएमा अनुसन्धान अधिकृतले महानिर्देशकको स्वीकृति लिई सोको अभिलेख जनाई सम्बन्धित व्यक्तिबाट भरपाइ गरी लिई त्यस्तो मालवस्तु वा कागजपत्र सम्बन्धित व्यक्तिलाई फिर्ता गरिदिनु पर्नेछ ।